काठमाडौं । इङ्लिस प्रिमियर लिगमा शनिबार आर्सनलले घरेलु टोली एस्टन भिल्लाविरुद्ध २ ० को सहज जित दर्ता गरेको छ ।
भिल्ला पार्कमा आर्सनललाई जित दिलाउन लियान्द्रो ट्रोसार्ड र थोमस पार्टीले गोल गरे । लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको आर्सनल तेस्रो स्थानमा छ । पराजित एस्टन भिल्ला समान खेलबाट तीन अंकका साथ १२औं स्थानमा छ ।
खेलको ६७औं मिनेटमा ट्रोसार्डको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो ।
१० मिनेटपछि पार्टीले गोल गर्दै टोलीलाई सहज जित दिलाए । पार्टीले बुकायो साकाको पासलाई पोस्टको दिशा दिएका थिए ।
लिगअन्तर्गत शनिबार नै सम्पन्न अन्य खेलमा म्यानचेस्टर सिटीले इप्सविच टाउनलाई ४-१, ब्राइटनले म्यानचेस्टर युनाइटेड तथा फुलहमले लेस्टर सिटीलाई समान २-१, टोटनहमले एभर्टनलाई ४-०, वेस्टहम युनाइटेडले क्रिस्टल प्यालेसलाई २-० तथा नटिङ्घम फरेस्टले साउथह्यम्पटनलाई १-० ले पराजित गरे ।