काठमाडौं । डुसान भ्लाहोभिचको उत्कृष्ट प्रदर्शनप्रेरित युभेन्टसले इटालियन सिरी ‘ए’ मा सोमबार घरेलु टोली भेरोनाविरुद्ध ३-० को सहज जित निकालेको छ ।
मर्चेन्टोनियो बेन्टगोडी रंगशालामा युभेन्टसलाई जित दिलाउन भ्लाहोभिचले दुई र निकोलो साभोनाले एक गोल गरे ।
लगातार दोस्रो जितसँगै दुई खेलमा ६ अंक जोडेको युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ । पहिलो पराजय ब्यहोरेको भेरोना समानखेलबाट तीन अंकका साथ नवौं स्थानमा छ ।
खेलको २८औं मिनेटमा भ्लाहोभिचको गोलमार्फत युभेन्टसले अग्रता लिएको थियो । उनले किनन् यल्डिजको पासलाई पोस्टको दिशा दिए । त्यसको ११ मिनेटपछि साभोनाले सामुएल एमबांगुलाको क्रसलाई हेडरमार्फत जाली चुमाउँदै टोलीको अग्रता दोब्बर बनाए । युभेन्टका लागि साभोनाको यो पहिलो खेल र गोल हो ।
भ्लाहोभिचले५३औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई सहज जित दिलाए । सोमबारै सम्पन्न अर्को खेलमा काग्लियारी कोमोसँग १-१ को बराबरीमा रोकियो ।