काठमाडौं । दशैं तिहारको लागि नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही नगर्ने भएको छ । सुकिला नोटलाई नै प्रयोगमा ल्याउनेगरि छलफल अघि बढेका नेपाल राष्ट्र बैकले जनाएको छ ।
नयाँ नोट छाप्दाको आर्थिक भार कम गर्नुपर्ने तथा डिजिटल कारोबारलाई बढावा दिनुपर्ने भएकाले यस्तो निर्णय लिइएको हो ।
बैंकमा भएका नोटलाई 'सर्टिंग' सेतो, पहेंलो र रातो रंगको ट्याग प्रयोग गरिन्छ । सेतो चिन्हको ट्याग भएका नोटलाई सुकिला नोटको रुपमा लिइन्छ भने पहेंलो ट्याग को नोटलाई प्रयोगमा ल्याउन सकिने ठिकै नोटको रुपमा लिइन्छ । त्यस्तै रातो चिन्हको ट्याग भएकालाई प्रयोगमा ल्याउन नसकिने 'झुत्रो' नोटको रुपमा लिइन्छ ।
नोट व्यवस्थापन, छपाईका साथै ओसारपसारलगायतका शीर्षकमा वर्षेनी १ अर्ब रुपैयाँ बढीको आर्थिक खर्च हुने गरेको तथ्यांक छ । यसअघि चाडपर्वमा राष्ट्र बैंकले नयाँ नोट साट्ने गरेको थियो । अब दशैं आउन एक महिना मात्रै बाँकी छ । यो वर्ष असोज २६ गते दशैंको टीकाको साइत छ ।