बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • विश्वकप सेमिफाइनलमा भारत र न्यूजिल्याण्ड आमने सामने, कसले मार्ला बाजी ?


    हुलाक प्रेस

    • बुधबार, कात्तिक २९ २०८००२:२५
    विश्वकप सेमिफाइनलमा भारत र न्यूजिल्याण्ड आमने सामने, कसले मार्ला बाजी ?

    काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो सेमिफाइनल खेल आज मुम्बईमा भइरहेको छ । जारी प्रतियोगितामा अपराजित रहँदै अङ्क तालिकाको शीर्ष स्थानमा रहेको भारत र २०१९ को उपविजेता न्युजिल्याण्डबीच वानखेडे मैदानमा दिउँसो २:१५ बजे खेल सुरु भएको छ ।

    भारतीय टिम आठौं पटक एकदिवसीय विश्वकपको सेमिफाइनल खेल्न लाग्दा न्युजिल्यान्डको भने यो नवौं सेमिफाइनल खेल हो। दुवै टोली प्रतियोगितामा लगातार दोस्रो पटक सेमिफाइनलमा भिड्न लागेका हुन्। भारतीय समर्थकहरू लगातार दोस्रो पटक न्युजिल्यान्डको हातबाट हार चाहनन्। यसअघि २०१९ को म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको थियो।

    यो पटकको विश्वकपमा भारतले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको छ। टोलीले हरेक क्षेत्रमा आफूलाई उत्कृष्ट प्रमाणित गरेको छ। भारत लिग चरणमा सबै ९ खेल जितेर तालिकाको शीर्ष स्थानमा रहँदा सबै दाबेदारलाई समूहचरणमा फराकिलो अन्तरले हराएको थियो। न्युजिल्यान्डले भने समूहचरणमा ९ मध्ये ५ खेलमा जित हासिल गर्दै सेमिफाइनल यात्रा तय गरेको हो।

    हेड टु हेडमा न्युजिल्यान्ड बलियो
    एकदिवसीय विश्वकपमा न्युजिल्यान्डको इतिहास राम्रो रहेको छ। प्रतियोगितामा दुई टिमबिच कुल १० खेल भएका छन्। जसमा ५ खेलमा न्युजिल्यान्ड र ४ खेलमा भारत विजयी भएका छन्। २०१९ मा भएको एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो। दुई टिम पछिल्लो पटक यसै विश्वकपको समूहचरणमा भिडेका थिए। धर्मशालामा भएको खेलमा भारतले ४ विकेटको जित हासिल गरेको थियो।

    समग्रमा भारत र न्युजिल्यान्डबिच कुल १ सय १७ एकदिवसीय खेल भएका छन्। जसमा भारतले ५९ र न्युजिल्यान्डले ५० खेलमा जित निकालेका छन्। ७ खेल नतिजाविहीन रहेको छ।

    पिच रिपोर्ट
    वानखड़े स्टेडियमको पिच ब्याटिङ मैत्रि मानिन्छ। स्टेडियममा प्रतियोगिताको पाँचौँ तथा अन्तिम खेल हुँदैछ। आजको खेलमा टसको भुमिका पनि महत्वपूर्ण हुनेछ। विश्वकपमा ४ मध्ये ३ खेल पहिले ब्याटिङ गर्ने टिमले जितेको छ। वानखडे मैदानमा अहिले सम्म कुल २७ एकदिवसीय खेल भएका छन्। जसमा पहिलो इनिङमा ब्याटिङ गर्ने टिमले १४ खेल तथा दोस्रो इनिङमा ब्याटिङ गर्ने टोलीले १३ खेलमा जित निकालेका छन्। यो मैदानको उच्च स्कोर ४ सय ३८ रन हो। दक्षिण अफ्रिकाले २०१५ मा भारत विरुद्ध यो स्कोर बनाएको थियो। त्यस्तै लो स्कोर ५५ रन हो। जुन यसै प्रतियोगितामा श्रीलंकाले भारतविरुद्ध बनाएको थियो।

    भारतको सम्भावित प्लेइङ ११
    रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), सूर्यकुमार यादव, रवींद्र जड़ेजा, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी र मोहम्मद सिराज।

    न्यूजील्यान्डको सम्भवित प्लेइङ ११
    केन विलियमसन (कप्तान), रचिन रवींद्र, डेवोन कनवे, डेरिल मिचेल, टम लाथम, (विकेटकीपर) ग्लेन फिलिप्स, मार्क चापमन, मिचेल सेन्टनर, लक्की फर्गुसन, टिम साउदी र ट्रेन्ट बोल्ट।

     


    प्रतिक्रिया दिनुहोस