बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • हंगेरीविरुद्ध जर्मनीको फराकिलो जित


    हुलाक प्रेस

    • आइतबार, भदौ २३ २०८१०८:१६
    हंगेरीविरुद्ध जर्मनीको फराकिलो जित

    काठमाडौं । जमाल मुसियालाको उत्कृष्ट प्रदर्शनप्रेरित जर्मनीले युइएफए नेसन्स लिगमा शनिबार हंगेरीविरुद्ध ५-० फराकिलो जित निकालेको छ ।

    घरेलु मैदान मर्कुर स्पील एरिनामा जर्मनीलाई जित दिलाउन निकोलस फुलक्रग, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पाव्लोभिच, काई हाभर्टजले गोल गरे ।

    सुखद सुरुआत गरेको जर्मनीले  समूह ‘सी’ मा तीन अंक जोडेको छ । खेलको २७औं मिनेटमा फुलक्रगको गोलमार्फत जर्मनीले अग्रता लिएको थियो । उनले मुसियालाको पासलाई पोस्टको दिशा दिए ।

    मुसियालाले ५८औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। यस गोलका लागि विर्ट्जले बल उपलब्ध गराएका थिए । मुसियालाको पासलाई सदुपयोग गर्दै विर्ट्जले ६६औं मिनेटमा जर्मनीका लागि तेस्रो गोल गरे । १० मिनेटपछि पाव्लोभिचले गोल गर्दा जर्मनी ४-० ले अगाडि बढ्यो । यस पटक पनि मुसियालाले नै गोलको अवसर सिर्जना गरेका थिए ।

    निर्धारित समय सकिन नौ मिनेट बाँकी छँदा हाभर्ट्जले पेनाल्टीमार्फत गोल गर्दै जर्मनीलाई ५-० को सहज जित दिलाए ।

    यही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभियनाविरुद्ध ५- २ को सहज जित निकाल्यो ।  


    प्रतिक्रिया दिनुहोस