काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको गोलप्रेरित पोर्चुगलले युरोपियन नेसन्स लिगमा स्कटल्यान्डलाई २–१ ले हराएको छ । पोर्चुगलको ‘कमब्याक’ जितमा ब्रुनो फर्नान्डेज र रोनाल्डोले समान गोल गरे ।
लगातार दोस्रो जितपछि समूह ‘ए’ मा पार्चुगल ६ अंकसहित शीर्ष स्थानमा छ । क्रोएसिया र पोल्यान्डको समान तीन अंक रहँदा स्कटल्यान्डले खाता खोल्न सकेको छैन ।
पोर्चुगलमा भएको खेलमा अग्रता भने स्कटल्यान्डले बनायो । स्कट म्याकटोमिनीले सातौँ मिनेटमा अग्रता दिलाएपछि घरेलु टोली दबाबमा आएको थियो । ५४औं मिनेटमा ब्रुनो फर्नान्डेजले बराबरी गोल गरे । उनले राफेल लिओको पास सदुपयोग गरेका हुन् ।
खेल सकिन दुई मिनेटअघि रोनाल्डोले विजयी गोल गरे । नुनो मेन्डिसले मिलाएको बललाई रोनाल्डो गोल गरेका हुन् ।
राति नै भएको समूहको अर्काे खेलमा क्रोएसियाले पोल्यान्डलाई १–० ले हरायो । क्रोएसियाको जितमा लुका मोड्रिकले ५२औं मिनेटमा निर्णायक गोल गरेका थिए ।