काठमाडौं । फाबियन रुइज चम्किएपछि १० खेलाडीमा समेटिएको स्पेनले आइतबार जेनेभामा स्विट्जरल्यान्डलाई ४–१ ले पराजित गर्दै नेसन्स लिगमा पहिलो जित हात पारेको छ ।
युरो कप २०२४ को विजेता स्पेनले समूहचरणको पहिलो खेलमा सर्बियासँग गोलरहित बराबरी खेलेको थियो । तर, स्टेड डी जेनेभमा जोसलु र रुइजले १३ मिनेटभित्रै २–० को अग्रता दिलाएपछि स्पेनले राम्रो सुरुआत गरेको थियो ।
खेलको २०औं मिनेटमा स्पेनका डिफेन्डर रोबिन लो नोर्मान्डले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसैको फाइलदा उठाउँदै स्विट्जरल्यान्डका जेकी अमडोनीले ४१औं मिनेटमा गोल गरेका थिए ।
तर, स्विट्जरल्यान्डका खेलाडीले खेल २–१ मा ल्याएपनि खेल सकिन १३ मिनेट बाँकी रहँदा स्पेनले अग्रता पुन: बढायो । रुइजले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल। त्यसको तीन मिनेटपछि फेरान टोरेसले अर्को गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले भने, ‘१० जना खेलाडीको साथमा खेललाई कुशल तरिकाले अगाडि बढाउन सफल भएका छौं। मलाई यो टोलीप्रति धेरै गर्व छ । हरेक दिन हामी सुधार गर्न गरिरहेका छौं ।’