काठमाडौं । विश्वकप २०२६ को छनोट खेलमा ब्राजिल खराब लयमा देखिएको छ । ८ औँ चरणका खेल सकिँदा ब्राजिलले मात्रै तीन खेल जितेको छ ।
बाँकी चार खेलमा पराजित भएको ब्राजिलले एक खेल बराबरी खेलेको छ । बुधबार बिहान ब्राजिल पाराग्वेसँग हार्दै अंक गुमाउन बाध्य भएको हो । घरेलु मैदानमा पाराग्वेले ब्राजिललाई १–० ले जित्यो ।
यो नतिजापछि १० अंकसहित ब्राजिल पाँचौँ र पाराग्वे ९ अंकसहित सातौँ स्थानमा छन् । पाराग्वेको जितमा डिएगो गोमेज निर्णायक बने । उनले २०औँ मिनेटमा गरेको गोल नै ब्राजिललाई हराउन पर्याप्त बन्यो ।
यसअघिका खेलमा अर्जेन्टिना, कोलम्बिया र उरुग्वेसँग पनि ब्राजिल हारेको थियो । दक्षिण अमेरिकी छनोटकै बाँकी खेलमा उरुग्वे र भेनेजुयलाले गोलरहित बराबरी खेल्दा चिले बोलिभियासँग २–१ ले हार्यो । कोलम्बियाले अर्जेन्टिनालाई र इक्वेडरले पेरुलाई १–० ले हरायो ।