बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु


    हुलाक प्रेस

    • शनिबार, भदौ २९ २०८१०५:००
    गाजामा इजरायली आक्रमण हुँदा एकै परिवारका ११ जनाको मृत्यु

    गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ । 

    “पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ”, विभागकाका प्रवक्ता महमुद बस्सलले बताए ।

    गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उनले बताए । “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्”, बस्सलले भने ।  

    इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

    बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको मृत्यु भएको बताएका छन् ।

    उत्तरपश्चिमी गाजा सहरमा दार अल–अर्काम विद्यालय नजिकै मानिसको भीडमा हवाई आक्रमण हुँदा पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए ।

    त्यसैगरी, दशौँ हजार विस्थापित प्यालेस्टिनीहरूले शरण लिएको दक्षिणी खान युनिस प्रान्तको अल–मवासी क्षेत्रमा भएको आक्रमणमा अन्य तीन जनाको मृत्यु भएको छ । 

    रासस


    प्रतिक्रिया दिनुहोस