बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • आईसीसी विश्वकप क्रिकेट लिग–२, नेपाल पहिलो खेलमा पराजित


    हुलाक प्रेस

    • मंगलबार, असोज १ २०८१०६:३९
    आईसीसी विश्वकप क्रिकेट लिग–२, नेपाल पहिलो खेलमा पराजित

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । 

    सोमबार राति क्यानडाको किंग सिटीमा भएको खेलमा नेपाललाई घरेलु टिम क्यानडाले १०३ रनले पराजित गरेको हो । खेलमा क्यानडाले प्रस्तुत गरेको २५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ४०.१ ओभरमा १५० रनमै समेटियो ।

    क्यानडाविरुद्ध नेपालका कुनै पनि ब्याटरको प्रदर्शन उल्लेखनीय रहेन । नेपाली टिमको स्कोरबोर्डमा करण केसीले सर्वाधिक २७ रन थपे । सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भीम सार्कीले १८ र गुल्सन झो १५ रन थपे । यस्तै, कुशल मल्लले १२ रन थपे ।

    नेपाललाई सस्तैमा समेट्न क्यानडाका डिलोन हेलिगरले पाँच विकेट लिए । १० ओभर बलिङ गरेका हेलिगरले नेपालका कुशल भुर्तेल, आसिफ सेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने र गुल्सन झालाई पभेलियनको दिशा देखाए । उनले ३१ रनमात्र खर्चिए ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको क्यानडाले कप्तान निकोलस किर्टोनको आक्रामक ब्याटिङमा २५३ रनको योगफल खडा गरेको थियो ।

    इनिङको सुरुआत सुस्त गरे पनि कप्तान किर्टोनले ४४ बलमा तीन चौका र ६ छक्कासहित ७३ रन बनाएपछि क्यानडा बलियो योगफलसम्म पुगेको हो । 

    ओपनर नवनित धलिवालले ४८ रन थपे । हेलिगरले ३० रन थप्दा हर्ष थाकेरले २७ जोडे । साद बिन जफर र पर्गत सिंहले समान १७ रन थपे । कलिम साना र आरोन जोन्सनको नाममा समान १० रन रह्यो ।

    नेपालका करण केसी र ललितनारायण राजवंशीले समान दुई विकेट लिए । सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले एक–एक विकेट हात पारे । 

    लिग–२ मा पाँचौं खेल खेलेको नेपालको यो चौथो हार हो । यसअघि नेपालले घरेलु मैदानमै भएका चार खेलमध्ये तीन खेलमा हार व्यहोरेको थियो । 

    जितसँगै नौ खेलबाट १० अंक जोडेको क्यानडा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पाँच खेल खेल्दा दुई अंकमात्र जोडेको नेपाल तालिकाको सातौँ स्थानमा छ ।


    प्रतिक्रिया दिनुहोस