काठमाडौं । अन्तिम समयमा जुलियन अल्भारेजले गोल गरेपछि एथलेटिको मड्रिडले स्पेनिस ला लिगामा नाटकीय जित दर्ता गरेको छ ।
बिहीबार राति भएको खेलमा एथलेटिकोले सेल्टा डि भिगोमाथि १–० को रोमाञ्चक जित निकाल्दै हारबाट जोगिएको हो ।
जितसँगै एथलेटिको ला लिगा अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । लिगको सात खेलमा चारमा खेलमा जित र ३ खेलमा बराबरी गरेको एथलेटिको १५ अंकमा तालिकाको तेस्रो स्थानमा छ । समान खेलबाट २१ अंक भएको बार्सिलोना शीर्ष र १७ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ ।
मोटो रकममा एथलेटिको पुगेका अल्भारेजले खेलको अन्तिम मिनेटमा एन्टोइन ग्रिजम्यानको क्रसलाई सदुपयोग गर्दै बललाई उत्कृष्ट फिनिसिङ दिएका थिए ।
गएराति नै भएको अर्को खेलमा भिल्लारियलले स्पान्योलमाथि २–१ को जित दर्ता गरेको थियो । जितसँगै भिल्लारियल १४ अंकमा तालिकाको चौथो स्थानमा छ । अर्को खेलमा भने लस पलमास र रियल बेटिसले १–१ को बराबरी गर्दै अंक बाँडे ।