एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले बुधबार साँझ नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् ।
ट्रम्प ह्वाइट हाउस पुग्दा जो बाइडेनले हात मिलाए। दुवैले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न पनि सहमति जनाएका छन् ।
बैठकको सुरुवातमा बाइडेनले भने- चुनावमा विजयी भएकामा तपाईंलाई धेरै धेरै बधाई छ । हामी सहज रूपमा शक्ति हस्तान्तरणको आशा गर्दछौँ । हामी तपाईंलाई कुनै पनि समस्याको सामना नगर्ने सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ । हामीले आज यसबारे कुरा गर्ने मौका पाउनेछौँ । तपाईलाई फेरि स्वागत छ ।
बाइडेनको सम्बोधनपछि ट्रम्पले भने- धेरै धेरै धन्यवाद । राजनीति कठिन छ र धेरै अवस्थामा यो धेरै राम्रो संसार होइन। तर आज संसार राम्रो छ र म यसको कदर गर्छु । सहज शक्ति हस्तान्तरण सबै अर्थमा राम्रो हुनेछ। म यसको धेरै कदर गर्छु।
उपराष्ट्रपति तथा चुनावमा डेमोक्र्याटिक पार्टीबाट ट्रम्पसँग प्रतिस्पर्धा गरेकी कमला ह्यारिस भने बैठकमा उपस्थित नभएको बीबीसीको समाचारमा उल्लेख छ ।
जो बाइडेनले ट्रम्पलाई ह्वाइट हाउसमा भेट्न केही दिनअघि नै निम्तो दिएका थिए । तर यसअघि सन् २०२० मा राष्ट्रपति चुनाव हार्दा ट्रम्पले बाइडेनलाई यसरी निमन्त्रणा गरेका थिएनन् । उनले बाइडेनको शपथ ग्रहण समारोह नै बहिष्कार गरेका थिए । यति मात्र होइन, चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पका समर्थकहरूले ह्वाइट हाउसमा अराजकतासमेत मच्चाएका थिए ।
तर बाइडेन आगामी जनवरी २० मा हुने ट्रम्पको शपथ ग्रहण समारोहमा उपस्थित हुने अपेक्षा गरिएको छ ।
