बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • नेपालको अब आफ्नै एटीएम कार्ड


    हुलाक प्रेस

    • मंगलबार, चैत १९ २०८१०८:३८
    नेपालको अब आफ्नै एटीएम कार्ड

    काठमाडौँ । विदेशी कार्ड प्रयोग गरिरहेका नेपालीले अब आफ्नै एटीएम कार्ड बोक्न पाउने भएका छन्।

    नेपाल क्लियरिङ हाउसले नेशनल कार्ड स्विच सिस्टम सञ्चालनमा ल्याएसँगै नेपाल पेको एटीएमबाटै कारोबार गर्न सकिने भएको हो। 

    नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरुको संयुक्त लगानीमा स्थापना भएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले वित्तीय कारोबारको आफ्नै सिस्टम बनाइरहेको छ। कम्पनीले आफ्नो सफ्टवेयर प्रणाली तयार गरे पनि पूर्ण कार्यान्वयनमा केही समय लाग्ने जनाएको छ। 

    एनसीएचएलले २०७८ मंसिर २ गते पहिलो चरणमा नेशनल पेमेन्ट स्विच सञ्चालन ल्याएको थियो। जसबाट क्रसबोर्डर कारोबार, कार्डको आधारमा भुक्तानी, क्यूआरको आधारमा भुक्तानी, रिटेल भुक्तानी गर्दै आएको छ। हाल  बैंक, वालेट, रियल टाइम फन्ड ट्रान्सफर, पीएसओ सेटलमेन्ट गर्दै आएको छ।

    सोमबार नेशनल कार्ड स्विच सिस्टम सञ्चालनमा ल्याएको छ। आन्तरिक कार्ड प्रचलनमा ल्याएको छ। यसले विदेशी कम्पनीविनै नेपालको वित्तीय प्रणाली सञ्चालन हुन सक्नेछ। आन्तरिक कार्डको इन्टरअपरेबालिटी कारोबार, कार्ड डेटा लोकलाइजेसन र केन्द्रीकृत अनुगमन, अतिरिक्त भुक्तानी शुल्क घटाउन सहयोग पुग्ने जनाएको छ। 

    ‘आफ्नै कार्ड भइसकेपछि सबै कारोबार एनसीएचएलकै नियन्त्रणमा हुन्छ। सर्वसाधारणको वित्तीय जानकारी विदेशी कम्पनीलाई सेयर गर्नुपर्दैन’, एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले भने, ‘डेटा सुरक्षा हामीमै हुन्छ।’

    व्यावसायिक क्षेत्रमा फ्रड एन्ड रिस्क व्यवस्थापन प्रणाली कार्यान्वयन हुनेछ।  बीएफआई पीएसओ पीएसपीले आफ्नो सिस्टम नेपाल पेसँग आबद्धता गरी कारोबार गर्न सक्छन्। नेपाल पे कार्ड डेबिट, क्रेडिट, भर्चुअल कार्डको रुपमा प्रयोग गर्न सकिनेछ। 

    नेपाल पे कार्ड नेपालको आफ्नै पे कार्ड हुनेछ। सुरुवाती चरणमा सिटिजन बैंक, गुडविल फाइनान्स लिमिटेड, हिमालय बैंक लिमिटेड, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, एनएमबी बैंक, प्रभु बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंकले नेपाल पे कार्ड जारी गर्नेछन्। यसमा ९ वटा बैंक जोडिसकेका छन् भने बाँकी छिट्टै जोडिँदै जानेछन्। 

    योसँगै विदेशी कम्पनीका भिसा कार्ड, मास्टर कार्ड, युनियन पेको सट्टा नेपाल पे कार्ड प्रचलनमा ल्याउन सकिनेछ। नेपालको आफ्नै कार्ड आइसकेपछि विदेशी कम्पनीको स्ट्यान्डर्डअनुसार तिर्नुपर्ने बढी रकम जोगिनेछ। 

    कार्डबाट हुने क्लियरिङ र सेटलमेन्टका सबै कारोबार एनसीएचएलले विकास गरेको प्रणालीबाटै हुनेछ। 


    प्रतिक्रिया दिनुहोस