काठमाडौँ । पाकिस्तानसँगको सिन्धु जल सन्धि रद्द गरेपछि भारतले चेनाब नदीको पानी रोकेको छ ।
जम्मुको रामवनमा बनेको बगलिहार बाँधबाट भारतले पानीको प्रवाह रोकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । साथै कश्मीरमा किशनगंगा बाँध हुँदै झेलम नदीको पानी रोक्ने योजना पनि भारतले बनाइरहेको समाचारमा उल्लेख छ ।
जम्मु-कश्मीरको पहलगाममा अप्रिल २२ मा आतंककारीले आक्रमण गरी २६ जना मारिएपछि पाकिस्तानलाई आरोप लगाउँदै भारतले दशकौँ पुरानो सिन्धु जल सन्धि निलम्बन गरेको हो ।
विश्व बैंकको मध्यस्थतामा भएको सिन्धु जल सन्धिले १९६० देखि भारत र पाकिस्तानबीच सिन्धु नदी र यसका सहायक नदीहरूको प्रयोगलाई नियमन गरिरहेको थियो ।