काठमाडौं । इजरायलले गाजामा जारी कारबाहीका क्रममा भूलवश आफ्नै तीन नागरिकको हत्या हुन पुगेको जनाएको छ ।
हमासले बन्धक बनाएका इजरायली नागरिकहरू २८ वर्षीय योटाम हाइम, २२ वर्षीय समीर तलल्का र २६ वर्षीय एलोन शमरिजलाई गल्तीले ‘खतरा’ ठान्न पुग्दा मारिएको इजरायली सेनाले जनाएको छ ।
बीबीसीको समाचारअनुसार इजरायली सेनाले यस घटनाप्रति दुःख व्यक्त गर्दै गाजाको उत्तरमा रहेको शेजैयामा तीनै जनालाई सैनिकले गोली हानेको बताएको छ ।
यी तीनै शवलाई इजरायल ल्याइएको छ, जहाँ उनीहरूको पहिचान भएको हो । इजरायली सेना (आईडीएफ) ले शुक्रबार भएको उक्त घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
यस दु:खद घटनाप्रति इजरायली सेनाले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा समवेदना प्रकट गरेको छ ।इजरायलको सेनाले भनेको छ- हाम्रो राष्ट्रिय मिशन बेपत्ताको खोजी गर्नु र सबै बन्धकलाई फिर्ता ल्याउनु हो । गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणका क्रममा गाजा लगिएका बन्धकमध्ये अझै सयभन्दा बढी छन् ।
यसबीच भएको सातदिने युद्धविरामका क्रममा केही बन्धकलाई भने रिहा गरिएको थियो । जसमा नेपाली विद्यार्थी विपिन जोशी पर्न सकेनन् । उनको रिहाइका लागि पहल जारी रहेको सरकारले बताइरहेको छ ।