बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • कञ्चनपुरमा हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजी


    हुलाक प्रेस

    • शनिबार, मंसिर ३० २०८००१:४८
    कञ्चनपुरमा हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजी
    कञ्चनपुर । महेन्द्रनगरमा रहेको महाकाली प्रादेशिक अस्पतालको विज्ञ चिकित्सकसहितको टोलीले गाउँ–गाउँमा पुगेर हात्तीपाइले र हाइड्रोशिलका बिरामीको खोजपड्तालको कार्यअगाडि बढाएको छ ।
     
    हात्तीपाइले र हाइड्रोशिल रोग निवारण गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा ‘स्क्रिनिङ क्याम्प’ सञ्चालन गरी अस्पतालले रोगीहरुको खाजी गरिरहेको हो । अस्पतालका भेक्टर कन्ट्रोल अधिकृत दीपेन्द्रसिंह रावलका अनुसार राष्ट्रिय हात्तीपाइले कार्यक्रमअन्तर्गत सन् २०३० सम्म देशबाटै हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिइएको छ ।
     
    सोही लक्ष्यअनुसार प्रदेश सरकारबाट स्वीकृत बजेटको परिधिभित्र रही एमएमडिपि कार्यक्रम सञ्चालन गरी गाउँ बस्तीमा रहेका हात्तीपाइले र हाइड्रोशिलका बिरामीहरुको खोजी गरी निःशुल्क रुपमा शल्यक्रिया गर्ने कार्यक्रम अगाडी बढाइएको अधिकृत रावलले बताए ।
     
    जिल्लाका १० स्थानमा स्क्रिनिङ्ग क्याम्प सञ्चालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए । “स्थानिय स्वास्थ्य संस्थाहरुसँग समन्वयको कार्य गरी क्याम्प सञ्चालन गरिरहेका छौं”, उनले भने, “हालसम्म बेलौरी र शुक्लाफाँटाको दीपनगरमा रहेको स्वास्थ्य संस्थामा क्याम्प सञ्चलन गरिएको छ, त्यसमा १८ जना हाइड्रोशिलका बिरामी फेला परेका छन ।” 
     
    यसपछि पिपलाडी, देखतभूली, बेलडाँडी लगायतका क्षेत्रमा क्याम्प सञ्चालन गरिने उनको भनाइ छ । हात्तीपाइले र हाइड्रोशिलका बिरामी गाउँघरमा धेरै लुकेर बसेका भए पनि विभिन्न कारण क्याम्पससम्म आउन नसकेको उनले उल्लेख गरे। 
     
    वर्षौदेखि रोग लुकाएर बसेका बिरामीको खोजी गरी महाकाली प्रादेशिक अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइने कार्यमा सहयोग गर्न उनले आग्रह गरे । दुई वर्षका बालकदेखि ७० वर्षका वृद्धमा हाइड्रोशिलको समस्या देखिएको उनले जानकारी दिए । 
     
    त्यस्ता बिरामीको सङ्या जिल्लाभरीमा एक हजारदेखि एक हजार दुई सयको हाराहारीमा रहेको उनको अनुमान छ । गत वर्ष मात्रै क्याम्प सञ्चालन गर्दा बेलौरी नगरपालिकाबाट मात्रै ६९ जना हात्तीपाइले र हाइड्रोशिल भएका बिरामीको शल्यक्रिया गरिएको थियो ।
     
    हात्तीपाइले र हाईड्रोशिलका कारण छालामा सङ्क्रमण भई रोगीमा क्यान्सरसम्मको समस्या निम्तिन सक्ने भएकाले यसको उत्तम उपचार भनेकै शल्यक्रिया भएको उनी बताउँछन् । हात्तीपाइले र हाइड्रोशिल रोग लामखुट्टेको टोकाइबाट हुने गरेको छ ।
    रासस


  • सम्बन्धित विषय:

  • # #hattipaile
  • प्रतिक्रिया दिनुहोस