गाजा पट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र । इजरायल र प्यालेस्टिनी लडाकू समूह गाजा युद्धमा अर्को युद्धविराम र बन्धक मुक्त सम्झौताको दिशामा अघि बढ्न सक्ने आशा बढेपछि हमासका नेताले बुधबार इजिप्ट आइपुगेका छन् ।
कतारस्थित हमासका प्रमुख इस्माइल हनियाह गाजा पट्टीमा भएको आक्रमण र अन्य विषयमा छलफल गर्न कायरो आइपुगेको समूहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनले इजिप्टका गुप्तचर प्रमुखसँग ‘आक्रमण र युद्ध रोक्न र कैदीहरूको रिहाईका लागि सम्झौता तयार गर्न’ वार्ता गर्ने कार्यक्रम रहेको समूहनिकट स्रोतले एएफपीसँग बताएको छ ।
यसअघि कतारमा इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहसँग भेट गरेका हनियाले ‘उच्चस्तरीय प्रतिनिधिमण्डल’को नेतृत्व गर्दै इजिप्टको भ्रमण गरेका हुन् ।
–बन्धक छुटाउनका लागि आवश्यक पहल जारी रहेको नेतन्याहुको भनाइ–
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धक बनाइएका परिवारसँग बन्धकलाई रिहा गर्ने सम्बन्धमा छलफलका लागि आफूले आफ्ना गुप्तचर प्रमुखलाई दुई पटक यूरोप पठाएको बताएका छन् ।
“यो हाम्रो कर्तव्य हो, सबै बन्धकहरूको रिहाईको लागि म जिम्मेवार छु,” प्रधानमन्त्रीले गाजामा अझै पनि रहेका १२९ बन्दीहरूमध्ये केहीका आफन्तहरूसँग भने । “तिनीहरूलाई बचाउनु सबैभन्दा ठूलो काम हो ।”
“मैले मोसाद ९इजरायली गुप्तचर संस्था० का प्रमुखसँग हाम्रा बन्धकहरूलाई मुक्त गर्ने प्रक्रियालाई बढावा दिन दुई पटक युरोप पठाएको छु । म यस विषयमा कुनै कसर बाँकी राख्नेछैन, र हाम्रो कर्तव्य ती सबैलाई फिर्ता ल्याउनु हो ।”
मोसादका प्रमुख डेभिड बार्नेयाले सीआईएका निर्देशक बिल बन्र्स र कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग युरोपमा भेटवार्ता गरेका छन् । इजिप्ट र संयुक्त राज्य अमेरिकाको समर्थन प्राप्त कतारले नोभेम्बरमा एक हप्ता लामो युद्धविराम गर्न सहयोग गरेको थियो जसमा २४० प्यालेस्टिनी कैदीहरूको बदलामा ८० इजरायली बन्धकहरूलाई मुक्त गरिएको थियो भने अन्य मुलुकका केही नागरिक पनि मुक्त भएका थिए ।
भर्जिनियाबाट प्रकाशन हुने समाचार संस्था ‘एक्जिओस’ले इजरायलले हमासले बन्धक बनाएका तीन दर्जनभन्दा बढीको बदलामा कम्तीमा एक हप्ताका लागि युद्ध स्थगन गर्ने प्रस्ताव गरेको पनि जनाएको छ ।
गत अक्टोबर ७ मा हमासका लडाकूले गाजाबाट एक्कासी जल, स्थल र हवाई मार्गबाट इजरायली क्षेत्रमा शुरू गरेको आक्रमणमा करिब एक हजार १४० व्यक्तिको मृत्यु भएको थियो जसमा अधिकांश सर्वसाधारण थिए र करिब २५० जनालाई अपहरण गरिएको इजरायलले जनाएको छ ।
प्रतिक्रियामा हमासलाई ध्वस्त पार्ने वाचा गर्दै बमबारी र त्यसपछि जमीनी आक्रमणको अभियान सुरु गरेको र यसबाट १९ हजार ६६७ व्यक्तिको मृत्यु भएको गाजाको हमास नियन्त्रित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । हताहत हुनेमा अधिकांश महिला र बालबालिका छन् ।
इजरायली राष्ट्रपति आइज्याक हर्जोगले पनि मङ्गलबार आफ्नो देश ‘बन्धकहरूको रिहाईका लागि अर्को मानवीय विराम र थप मानवीय सहायताका लागि तयार रहेको’ बताएका छन् ।
यसैबीच, प्यालेस्टिनी लडाकू समूह इस्लामिक जिहादले गाजामा आफ्नो हिरासतमा रहेका दुई जना बन्धकलाई जीवितै देखाइएको भिडियो फुटेज सार्वजनिक गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बुधबार द्वन्द्व अन्त्यका लागि आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने तयारी गरेको कूटनीतिक स्रोतले बताएका छन् ।
स्रोतका अनुसार पाठको पछिल्लो संस्करणमा शत्रुतालाई ‘अन्त्य’ गर्न आह्वान गरिएको छ ।
अमेरिकाले यसअघिको युद्धविराम प्रस्तावमा भिटो लगाएको थियो जसको प्यालेस्टिनी र अन्तर्राष्ट्रिय मानवीय समूहहरू विरोध गरेका थिए । उनीहरूले द्वन्द्वमा फसेका नागरिकहरूलाई मद्दत गर्न थप कदम चाल्न आग्रह गरेका थिए ।
इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले दक्षिणी गाजाको खान युनिस क्षेत्रमा सेनाले आफ्नो अभियान विस्तार गरिरहेको बताएपछि अहिले युद्ध जारी छ ।
“हामीले हमासलाई ध्वस्त पार्नुपर्छ, र यसका लागि लामो समय लाग्नेछ”, उहाँले भन्नुभयो, “अक्टोबरको अन्त्यमा जमीनी कारबाही सुरु भएयता १३३ जना इजरायली सैनिक मारिएका छन् ।”
–उन्नाईस लाख विस्थापित–
गाजा पट्टीमा भएको पछिल्लो इजरायली आक्रमणमा परी कम्तीमा ११ जनाको मृत्यु भएको हमासको स्रोतले बुधबार जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार गाजाका २४ लाख बासिन्दामध्ये १९ लाख विस्थापित भएका छन् र सहायता समूहहरूको सहायता गर्ने सीमित क्षमताबारे चिन्ता बढ्दै गएको छ ।
मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घका विशेष संयोजक टोर वेन्सल्यान्डले भने, “अकल्पनीय स्तरमा विस्थापन र सक्रिय शत्रुताकाबीच मानवीय सहयोग कार्यक्रम धरापमा परेको छ ।
गाजावासीहरूले खतरनाक जाडोको सामना गरिरहेका छन् र संयुक्त राष्ट्रसङ्घीय बाल निकायले “रोगका कारण हुने बालबालिकाको मृत्यु बमबारीमा मारिएकाहरूको सङ्ख्याभन्दा बढी हुन सक्ने’ चेतावनी दिएको छ ।
संयुक्त राज्य अमेरिकाले इजरायललाई कडा समर्थन गर्दै गाजामा नागरिकहरूको सुरक्षा गर्न पनि आग्रह गरेको छ ।
बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले मङ्गलबार इजरायललाई हमासविरुद्धको लडाइँमा ‘धेरै सर्जिकल, क्लिनिकल र टार्गेटेड एप्रोच’ अपनाउन आग्रह गरेका छन् ।
–क्षेत्रीय तनाबको खतरा –
गाजा युद्धले क्षेत्रीय तनाव बढ्ने डर पैदा गरेको छ र इजरायलले दक्षिणी लेबनानमा इरान समर्थित हिजबुल्लाह लडाकूहरूसँग घातक सीमापार आक्रमण पनि गरिरहेको छ ।
यसैबीच यमनको इरान समर्थित हुथी विद्रोहीले प्यालेस्टाइनीहरुलाई समर्थन गर्ने क्रममा इजरायलसँग जोडिएको भन्दै ‘रेड सी’बाट पार गर्ने पानीजहाजमा पटक–पटक क्षेप्यास्त्र र ड्रोन प्रहार गर्दै आएका छन् ।
परिणामस्वरूप, प्रमुख पारबहन फर्महरूले आफ्ना जहाजहरू अन्यत्र फर्काएका छन्, अफ्रिकाको वरिपरि धेरै महँगो मार्ग अपनाएका छन् ।
संयुक्त राज्य अमेरिकाले सोमबार स्वेज नहरमा जाने जलमार्गको सुरक्षाका लागि नयाँ बहुराष्ट्रिय नौसैनिक कार्यबलको घोषणा गरेको छ ।
(रासस/एएफपी)