बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • जापान भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो


    हुलाक प्रेस

    • मंगलबार, पुस १७ २०८००१:२१
    जापान भूकम्पमा मृत्यु हुनेको संख्या ३० पुग्यो

    काठमाडौं । जापानमा सोमबार गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म ३० जनाले ज्यान गुमाएका छन् । 

    सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७।६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् । 

    इशिकावा क्षेत्रमा पर्ने रहेको नोटो विमानस्थलमा समेत क्षति पुगेको र मानिस अलपत्र परेको जनाइएको छ ।

    भूकम्पबाट ठूलो मानवीय र भौतिक क्षति भएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् ।

    अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ । जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।

    भूकम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो भिडियोहरु सामाजिक सन्जालमा देखिन्छन् । इशिकावाको वाजिमा शहरमा एक सय भन्दा बढी घरहरु भत्किएका छन् । यो पर्यटकीय शहर पनि हो ।

    यसैगरी इशिकावाकै सुजु शहरको एक प्राचीन मन्दिर पनि पूर्णरुपमा भत्किएको छ । त्यसको भग्नावशेषमा मानिसहरु पुरिएको हुनसक्ने अनुमान छ ।

    भूकम्प प्रभावित विभिन्न ठाउँमा धुवाँको मुस्लो उडेको देखिएकाले आगलागी भएको अनुमान समेत गरिएको छ । भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो ।


  • सम्बन्धित विषय:

  • # #japanearthquake
  • प्रतिक्रिया दिनुहोस