नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडेकोमा पश्चताप गरेका छन् ।
गृह जिल्ला गोरखामा रहेका भट्टराइले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन् , ‘मासिक जिल्ला भ्रमणको क्रममा अत्यधिक जनसमुदाय र पार्टीका साथीहरूले मैले गत आम निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार नबन्नु र प्रचण्डलाई छोडिदिनु गम्भीर गल्ती भएको बताउनु भएको छ। साथै समाजको विकासको स्तर, औसत जनचेतना र विद्यमान संसदीय राजनीतिका प्रमुख खेलाडीहरूको भ्रष्ट, अनैतिक र पाखण्डी चरित्रको ख्याल नगरी ‘गान्धीवादी’ आदर्श र त्यागको मार्ग अवलम्बन गर्नु मेरो कमजोरी रहेको भनेर खुला आलोचना गर्नुभएको छ।’
देशमा ठूलो राजनीतिक क्रान्तिपछि राष्ट्रिय राजनीति पुनः सत्तादेखि सत्तासम्म र सामरदानरदण्डरभेदको दुष्चक्रमा फस्दै गएको उनको भनाइ छ।
उनले लेखेका छन्, ‘हिजोका क्रान्तिकारी नेताहरू मूल्यमान्यता र आदर्शबाट तीव्र गतिमा स्खलित हुँदै गइरहेको, ठूलो जनवलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्दै गइरहेको, जनताका सुशासन र समृद्धिका आकाङ्क्षामा गम्भीर तुषारापत भइरहेको सन्दर्भमा आफू सदन र सरकारमा नगई पार्टी र सडकका मञ्चबाट सफा र जनमुखी राजनीतिको पैरवी गर्नु र सत्तासीनहरूलाई खबरदारी गरिरहनु उपयुक्त हुने ठानेर साथीहरूलाई जानकारी गराएरै सो निर्णयमा पुगेको हुँ।’
निर्वाचन यता मुख्यतः प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नांगो रूपमा प्रदर्शित हुँदै गइरहेको र उल्टै आफूले निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपञ्च रचेर चरम अशोभनीय हर्कत गरेको आरोप लगाउँदै देश र जनताका आकाङ्क्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौँ जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुंग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि र मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन भट्टराईको भनाइ छ।
असल मनसायले गरेको निर्णयले आम जनता र पार्टीका साथीहरूलाई पर्न गएको असुविधाप्रति माफी समेत मागेका छन्।