काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ विषयमा प्रतिक्रिया दिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सभापति रहेको (रास्वपा)ले अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन नभएको बताएको छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् ।
प्रवक्ता ढकालले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अदालतको अनुमति लिएर पर्याप्त आधारसहित अनुसन्धान गरिनु प्रेस स्वतन्त्रताको हनन होइन । यसको अपव्याख्याले प्रेसलाई स्वतन्त्र होइन अनुचित लेनदेनको दासी सञ्जाल बनाउँछ ।’
रास्वपाले नाफामूलक निजी व्यवसाय गर्ने व्यक्ति र समाचार लेख्ने श्रमजीवी पत्रकार एकै नभएको पनि उल्लेख गरेको छ ।
रास्वपाले जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना गर्नैपर्ने बताउँदै विज्ञप्तिमा लेखिएको छ , ‘जो जतिसुकै शक्तिशाली भए पनि कानुनको पालना सबैले गर्नै पर्छ भन्ने मान्यता स्थापित हुनु लोकतन्त्रको जीत हो । कोही९को हीलाई छुनै हुन्नू भन्नु सामन्ती कायरता हो । यस्ता पूर्वाग्रहकै बलमा मुलुकको राजनीतिक प्रणाली विकृत हुँदै गएको कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’
ढकालले प्रहरीले धनुषा जिल्ला अदालतको अनुमति लिएर किर्ते नागरिकताको गम्भीर अभियोगबारे अनुसन्धान गर्न व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरेको पनि उल्लेख गरेका छन् ।
