काठमाडौँ । नेकपा(एमाले) काठमाडौँ जिल्ला कमिटीले काठमाडौँ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।
नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौँ जिल्ला कमिटीका नेताहरूले बुधवार गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौँमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेको हो ।
सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै काठमाडौँ लगायतका २८ जिल्लामा आगामी साउन १ गतेदेखि अनिवार्य प्रयोगमा ल्याउनुपर्ने समय सीमा तोकेको छ ।
‘त्यो अवधिभित्र राष्ट्रिय परिचयपत्र प्राप्त गरेर नम्बर लिन नसक्दा आजसम्म लिइ आएको वृद्ध भत्ता लिन पाइएन । यो ज्येष्ठ नागरिकहरुको पीडाको विषय भयो । यसलाई व्यवहारिक गर्नको लागि आवश्यक पर्दा यसको समय थप गर्नुपर्ने स्थिति पनि हुन्छ । गृह प्रशासनले पनि यसलाई सहजीकरणको लागि गृहमन्त्रीलाई ध्यानाकर्षण गराइयो,’ नेता श्रेष्ठले भने ।
वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि समयमै राष्ट्रिय परिचयपत्र नहुँदाको अवस्थामा भत्ता नरोक्न नेताहरुले माग गरेको उनले बताए ।