काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निष्कासित महामन्त्री रहेका डा. मुकुल ढकालले आफूलाई उपसभापति डा. स्वर्णिम वाग्लेको सचिवालयबाट भौतिक आक्रमण गर्ने धम्की आएको गम्भिर आरोप लगाएका छन्।
शनिबार राति वाग्लेको सचिवालयबाट उनलाई फोन गरी कुट्ने धम्की आएपछि आफूले सुरक्षाका लागि प्रहरीलाई अनुरोधसमेत गरिसकेको मुकुलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्।
उनले भनेका छन्, ‘स्वर्णिम वाग्लेको सचिवालयबाट मलाई पटक पटक फोन गरे, फोन उठाइन। मसँगै बस्ने भाइलाई फोन गरेर “मुकुललाई कुट्छु, त्यसलाई छोड्दिन लगायत अनेक गाली गरेको र हिजै राती इलाकाको डिएसपिलाई फोन गरेर सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेको छु।’
ढकालले एक अन्तर्वार्ताको क्रममा रास्वपा सभापति रवि लामिछाने र उपसभापति स्वर्णिम वाग्लेले भारतीय विदेश मन्त्रीलाई भेटेपछि आफूहरूलाई देशको नेतृत्व दिएमा नेपाललाई भारतको राज्य वा भुटान जस्तो बनाउन दिन सकिने आफूसँग बताएको विवादित अभिव्यक्ति दिएका थिए।
उनको यो अभिव्यक्ति सामाजिक सञ्जाल र मिडियामा भाइरल बनेको छ।