काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले संचालनमा ल्याएको भनिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) संचालनको परियोजनामा भ्रष्ट्राचार भएको आशंकामा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले छानबिन गरिरहेको छ।
नेपालभित्र मोबाइलहरुको आईएमईआई सहितको अन्य डाटाहरु सुरक्षित राख्न र मोबाइलको अवैध आयातलाई रोक्न शुरु गरिएको एमडीएमएस हालसम्मपनि पूर्णरुपमा संचालनमा नआउँदा अख्तियार दूरुपयोग अनुसन्धान आयोग र मन्त्रालयले छुट्टाछुट्टै छानबिन अगाडि बढाएका हुन्।
प्राधिकरण स्रोतकाअनुसार अख्तियारले यस बारेमा निकै अगाडिदेखि छानबिन गरिरहेको छ। र अहिले दैनिकजसो फाइलहरु मगाईरहेको छ। “प्राधिकरणबाट अख्तियारले विभिन्न कागजातहरु निरन्तर मगाएको छ। एमडीएमएसको बिस्तृत जानकारी र निर्णयहरुसमेत माग्दै आएको छ,” स्रोतले भन्यो, “कहिले बयानलाई बोलाउने हो भनेर त्रसित अवस्था छ।”
यसैबीचमा एमडीएमएसको बारेमा विभिन्न समाचारहरु प्रकाशित भएसँगै मन्त्रालयले समेत कमिटी गठन गरेर छानबिन अगाडि बढाएको छ।