काठमाण्डौं । एकिकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन नयाँ स्वास्थ्य प्रतिष्ठानहरुलाई समेट्नका लागि परिकल्पना गरिएको पुरानो परिकल्पना भएकाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यस छाता ऐनभित्र नपर्ने नेपाली काङ्ग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री गगन थापाले बताएका छन् ।
थापाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट अलग गरी चिकित्सा विज्ञान विश्वविद्यालय बनाउन पहलका लागि काठमाण्डौं आएका सर्वदलीय टोलीसंग कुराकानी गर्दै वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान प्रतिष्ठान बनाउन उपयुक्त संरचना र आधार भएको प्रतिष्ठान रहेको बताए ।
शुक्रबार टोलीले थापालाई ध्यानाकर्षणपत्र बुझाएका थिए । सर्वदलीय संयुक्त पत्र बुझ्दै महामन्त्री थापाले भने, 'विश्वविधालय निर्माणका लागि संरचनासंगसंगै विरामी पनि हुनुपर्छ पूर्वमा वीपी बाहेक अन्यन्त्र यस्तो छैन । वीपीलाई विश्वविद्यालय बनाउन सकियो भने पूर्वमा अन्य पाँचवटा स्वास्थ्य प्रतिष्ठान थप गर्ने बाटो समेत खुल्नेछ । '
छाता ऐनमा लाने सरकारको तयारीप्रति धराने जनताको गम्भिर असहमती रहेको कुरा टोलीका तर्फबाट पेश गरिएको ध्यानाकर्षणपत्रमा उल्लेख रहेको छ । पत्रप्रति सहमति जनाउँदै महामन्त्री थापाले भने छाता ऐन पुरानो कन्सेप्ट भएकाले हरेक प्रतिष्ठानहरुको आ आफ्नै विशेषताहरु रहेकाले अब यसमा समेटेर केन्द्रीकृत नेतृत्वले समस्या आउने बताए ।
सर्वदलीय टोलीमा नेपाली काँग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राई, मैसम राई, नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू रहेका थिए । टोलीमा नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठ तथा नेपाली काग्रेसका युवा नेता तथा यातायात व्यवसायी नेता सरोज सिटौला धरान उपमहानगर १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) लगायत सहभागी रहेका थिए ।