काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रो कार्यकालमा पहिलो वर्ष पुरा गर्न लागिरहेकोमा नयां ढंगले धक्का दिएर अर्को क्रमभङ्ग गर्ने घोषणा गरेका छन् ।
शुक्रवार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत् प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले अर्को क्रमभङ्ग गर्ने र त्यसमा जनताको पूर्ण साथ पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।
‘तेस्रो पटक प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । यो एक वर्ष पुरा भएपछि मैले नयाँ ढङ्गले धक्का दिएर, यहाँ मुख्यमन्त्रीजीले पनि भन्नुभयो क्रमभङ्ग । म साँच्चै क्रमभङ्ग गर्दैछु अर्को’, प्रचण्डले भने, ‘र त्यतिवेला आम नेपाली जनताको साथ हुने कुरामा विश्वास पनि व्यक्त गर्न चाहन्छु । ’
प्रधानमन्त्रीले नेपालमा धेरै सम्भावनाहरू रहेको बताउँदै हाम्रो प्रकृति, भूगोल, सम्पदा, हाम्रो जनशक्ति रहेको र यसैबाट धेरै चिज गर्न सक्ने बताए ।
उनले भने ‘हाम्रो प्रकृति, हाम्रो भूगोल, हाम्रो सम्पदा, हाम्रो जनशक्ति । धेरै चिज गर्न सक्छ’, उनले भने, ‘यो विश्वास जनतामा जगाउनु छ । त्यो विश्वास हामीले एकताको बलमा ।’
केही व्यक्तिले नेपालमा उज्यालो कहिँपनि छैन भनेर नकारात्मक भाष्य निर्माण गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले आम नेपाली जनतालाई निराश बनाउने र देशलाई असफल बनाउने षडयन्त्रबाट सावधान रहन आग्रह पनि गरे ।