बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • सर्वोच्चले यस कारण चिनेन योगराज ढकाल, रिगलको आममाफीको नाममा कारण देखाउ आदेश जारी


    हुलाक प्रेस

    • बिहीबार , असोज १८ २०८००८:१५
    सर्वोच्चले यस कारण चिनेन योगराज ढकाल, रिगलको आममाफीको नाममा कारण देखाउ आदेश जारी

    काठमाडौं । सर्वोच्च अदालतले रिगल ढकाललाई आममाफि दिने निर्णयविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । कानुनी रुपमा रिगलको नाम योगराज ढकाल भए पनि सर्वोच्चले भने उनको उपनामलाई मान्यता दिएको छ ।

    बाँकेका चेतन मानन्धरकी पत्नी भारती शेर्पाले दायर गरेको रिटमा बिहीबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न भनेको छ। यस्तै सर्वोच्चले अर्को सुनुवाइको पेसी असोज २५ गतेलाई तोक्न पनि आदेश गरेको छ।

    त्यसो त रिट निवेदक भारतीले विपक्षी बनाउँदा राष्ट्रपतिको कार्यालय शित्तल निवास काठमाडौ , प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौ , गृह मन्त्रालय सिंहदरबार काठमाडौ, जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला कारागार कार्यालय दाङ्ग, जिल्ला प्रशानस कार्यालय दाङ्ग , महान्यायाधिवक्ताको कार्यालय रामशाहपथ काठमाडौ / रिगल ढकाल नाममा रिट दिएकाले पनि अदालतले सोही नाममा आदेश जारी गरेको हो ।

    पीडित भारती शेर्पाले रिगल नाममा रिट निवेदन दिएका कारण सोही बमोजिम अदालतले आदेश जारी गरेको देखिन्छ । यही आदेशकै आधारमा सर्वोच्चको पूर्ण इजलासमा मुद्दा सुनुवाइ भई भोलि पुन योगनाथ ढकाल उर्फ रिगललाई जेल सजाय भएमा उनले अदालतमा आफ्नो नाम रिगल नभएको दाबी पेश गर्न सक्ने सम्भावना देखिन्छ ।

    सर्वोच्चको आदेशमा रिगललाई आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत् र अन्य प्रत्यर्थीहरुको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४६ (१) असोज २४ गते साँझ ५ बजेभित्र जवाफ पेस गर्न भनिएको छ।

    यसैगरी सर्वोच्चले रिट निवेदनको टुङ्गो नलागेसम्म निवेदक र निवेदकको परिवारका सदस्यलाई यथोचित सुरक्षा प्रदान गर्न पनि गृह मन्त्रालयलाई आदेश दिएको छ।

    तरुण दलमा आबद्ध गुण्डा नाइके ‘रिगल’ संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएपछि असोज ३ गते कैद मिनाहा हुँदै जेलमुक्त भएका थिए। 

    रिगलसहितको समूहले २०७२ असार २८ गते नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोकनजिक नेपालगन्ज–८ का २९ वर्षीय चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेका थिए। मानन्धर हत्याको एक महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति समेत थिए।

    चेतन हत्यामा संलग्न १३ अभियुक्तमध्ये रिगलसहित प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत र नवराज खत्री भनिने मोहनलाल खड्कालाई २०७५ वैशाखमा जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। बाँकी ९ जनालाई भने ३ वर्षदेखि १० वर्षसम्मको कैद सजाय सुनाइएको थियो।

    सर्वश्वसहित जन्मकैदको फैसलाअनुसार रिगल २० वर्ष सजाय बस्नुपर्ने थियो। तर ५० प्रतिशत पनि कैद भुक्तान नगरी उनले आममाफी पाएका थिए। सरकारको उक्त निर्णयविरुद्ध गत आइतबार हत्या भएका चेतनकी पत्नी भारतीले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

    रिगल उपनाममा नाममा आदेश जारी कानुनी जटिलता आउन सक्ने 

    सर्वोच्च अदालतले रिगल ढकालको नाममा आदेश जारी गरेको छ । जबकी कानुनी रुपमा योगराज ढकालको नामले चिनिने व्यक्तिको अर्को नाम छैन । साथीहरुले राखिदिएको नाम रिगल उपनामलाई अदालतले मान्यता दिदाँ पछि फैसला आउँदा आएपछि कानुनी छिद्र देखाएर आफू रिगल नामको व्यक्ति नभई योगराज ढकाल भएका भन्दै सफाईका लागि अदालत जान सक्ने सम्भावना रहन्छ । त्यसो त यसअघि राजिव गुरुङले आफू दिपक मनाङ्गे नभएको भन्दै सर्वोच्च अदालतबाट सफाई पाएको नजिर छ ।

    ०५९ सालमा ठमेलको एक्सजोन डिस्कोमा नेपाली सेनाका एकजना मेजरलाई कुटपिट गरेपछि राजिव गुरुङ उर्फ दिपक मनाङ्गे चर्चामा आएका थिए । आफू पनि कारबाही पर्ने डरले मेजरले उजुरी त दिएनन्, तर प्रहरी प्रतिवेदनकै आधारमा सार्वजनिक अपराध ऐनअनुसार कारबाही प्रक्रिया अघि बढेको थियो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला पनि सुनायो ।

    काठमाडौं जिल्ला अदालतले कैद सजाय सुनाएपछि आफू दिपक मनाङ्गे नभए राजीव गुरुङ भएको दाबी गर्दै सर्वोच्च अदालत गए र उनी रिहा पनि भए । पुनरावेदनमा उच्च अदालत, पाटनले भने दिपक मनाङ्गे र राजीव गुरुङ एउटै भएको प्रहरीको प्रमाणलाई स्वीकार गर्‍यो र, पुनः एक वर्ष कैद सजायको फैसला भएको थियो ।


    प्रतिक्रिया दिनुहोस