काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएकालाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको र दोश्षी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताएका हुन् ।
‘सरकारले छानबिन आयोग गठन गरिसकेको छ । छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानुनको दायरमा ल्याएर कारबाही हुन्छ । यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु’, उनले भने ।
बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछामको चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ का सुजन राउतको ज्यान गएको थियो ।
सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ ।