बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • मन्त्री प्रकाश ज्वालाले भने : बालकुमारीमा अवरोध भएको सुरक्षा निकायले जानकारी गराएन


    हुलाक प्रेस

    • सोमबार, पुस १६ २०८००५:१०
    मन्त्री प्रकाश ज्वालाले भने : बालकुमारीमा अवरोध भएको सुरक्षा निकायले जानकारी गराएन
    फाइल तस्वीर

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा सुरक्षा निकायले बाटोमा अवरोध भएको जानकारी नगराएको बताएका छन् । 

    सोमबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ज्वालाले यस विषयमा आफ्नो कुनै दोष नभएको बताउँदै आफू एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको स्पस्ट पारेका हुन् । 

    उनले बालकुमारी घटना हुनु आफैंमा दुखद भएको बताउँदै भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा भएको बताए । 

    उनले भने, 'हाम्रो गाडी त्यो बाटोमा हिंडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन ।'

    उनले त्यो घटनाभन्दा पहिले आफलाई कुनै जानकारी नभएको र गाडी रोकिसकेपछिको घटनाको जानकारी पनि नभएको बताए । 
    उनले भने, 'यस विषयमा हामी प्रष्ट के छौं भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसाबमा जोडिंदैनौं ।'

    गत शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडी रोकेर आगजनि गरिएको थियो । प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो ।

    कुराकानीमा मन्त्री प्रकाश ज्वालाले भनेका कुरा 

    यो बालकुमारी घटना आफैंमा दुःखद् घटना हो । दुई जना युवाहरुको ज्यान गएको छ, केही घाइते भएका छन् र यो नघट्नुपर्ने, नहुनुपर्ने घटना भएको छ । यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु । त्यस दिन हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको थियो । त्यो बैठक दुई दिन अघिदेखि चलिरहेको थियो ।

    त्यस बैठकमा म बिहानैदेखि सहभागी थिएँ । अर्कोतिर यता सिंहदरबारमा मन्त्रालयमा एउटा बैठक थियो मेरो । त्यो बैठक सुरु भइसकेपछि केही समयका लागि मन्त्रालयको बैठकमा सहभागी भएर फेरि बैठकमा फर्किने उद्देश्यले म त्यो पार्टी प्यालेसको बैठक कक्षबाट बाहिर निस्किएँ ।

    बाहिर निस्किनुभन्दा अगाडि बालकुमारी क्षेत्रमा के अवस्था छ, त्यहाँ डिस्टर्ब छ कि छैन अथवा परिस्थिति के छ रुटको अवस्था के छ ? त्यो हामीलाई केही पनि थाहा भएन । हामी सामान्य अवस्थामा बाहिर निस्कियौं । निस्किंदाखेरि पनि सुरक्षा निकायबाट, सुरक्षाकर्मीबाट समेत यस विषयमा कुनै जानकारी नभएपछि हामी सामान्य रुपमा बाहिर निस्कियौं ।

    संयोगले हाम्रै मन्त्रालयको राज्यमन्त्रीज्यूको गाडी भित्र पस्यो । हामी बाहिर निस्कियौं । राज्यमन्त्रीज्यूको गाडी भित्र पस्दासम्म सामान्य नै अवस्था छ ।

    हामी बाहिर निस्केर अलिकति अगाडि बढिसकेपछि पारिपट्टि केही डिस्टर्ब हामीले महसुस गर्‍यौं । अब के गर्ने भन्ने त्यहाँ हाम्रो बीचमा छलफल भयो । अगाडि बढ्न पनि नसकिने पछाडि फर्किन पनि नसकिने भएपछि मुख्य बाटोमा हामी प्रवेश गर्‍यौं ।

    मुख्य बाटोमा गइसकेपछि पनि केही व्यक्तिहरु आएर गाडी रोक्ने प्रयास गरे । त्यहाँ पीएसओले सम्झाउने प्रयास गरे र प्रदर्शनकारीहरु रोक्ने मध्येकै पनि कतिपय व्यक्तिहरुले यो गाडीलाई अगाडि जान दिउँ भनेर निकै धेरै प्रयास पनि गरे ।

    भीड बढ्दै जान थालेपछि म त्यहाँ रहँदा झन् उत्तेजित होला भीड भन्ने हिसाबले म त्यो गाडीबाट निस्केर फेरि बैठकस्थलमै फर्किहालें । फर्केपछि म बैठकमा बसें । त्यसपछिको अवस्था पनि मलाई जानकारी छैन । त्यहाँ आगलागी भएको कुरा, गोली चलेको कुरा । गोली चलेको कुरा गाडीमा आगो लाग्नुभन्दा पहिले हो कि पछि हो यो कुरा पछि छानबिनबाट पनि थाहा होला ।

    त्यहाँ गाडी पुग्यो, म केही समय रोकिएँ । रोकिएपछि त्यहाँको अवस्था तनावपूर्ण हुन्छ कि भन्ने उद्देश्यले आफ्नो बैठक कक्षमा फर्किइहालें । फर्किएपछि त्यसपछिको अवस्था के भयो ? कसरी अगाडि बढ्यो ? त्यस विषयमा पनि जानकारी छैन ।

    हाम्रो गाडी त्यहाँ पुगिसकेपछि पीएसओले बारम्बार यहाँ गाडी सडकमा छ । प्रदर्शनकारीहरुले घेरिरहेका छन् । छिटोभन्दा छिटो सुरक्षाकर्मी पठाउनुपर्‍यो भनेर उनले कम्युनिकेसन गरिरहेका थिए । त्यति हुँदा पनि करिब २०/२२ मिनेटसम्म पनि त्यहाँ सुरक्षाकर्मीहरु पुगेनन् । त्यसपछि प्रदर्शनकारीहरुले आगो लगाए भन्ने कुरा पछि मैले जानकारी पाएँ ।

    यो घटनामा हामी कहीं कतैबाट पनि जोडिंदैनौं । हाम्रो कुनै सम्बन्ध, साइनो पनि छैन । हाम्रो मन्त्रालयसँग जोडिएको विषय पनि होइन । हामीचाहिं सामान्य अवस्थामा बैठक कक्षबाट मन्त्रालयमा आउने क्रममा बाटोमा गाडी रोकियो । यो घटना भयो ।

    यस विषयमा हामी प्रष्ट के छौं भने, न त्यो घटनाभन्दा पहिले हामीलाई जानकारी छ न हामीलाई रोकिसकेपछिको घटनाको जानकारी छ । हामी यो घटनासँग कुनै पनि हिसाबमा जोडिंदैनौं ।

    भौतिक पूर्वाधार मन्त्री चढेको गाडी आएकै कारणले यो घटना घट्यो भन्ने कसैले परिभाषा गर्छ भने यो पूर्ण रुपमा गलत कुरा हो । किनकि सडक खुला छ, सडकमा गाडी त चल्छन् । अरु गाडीहरु पनि चलिरहेकै छन् । हाम्रो गाडी पनि चल्यो । त्यहाँ डिस्टर्ब छ भन्ने कुरा जानकारी भएको भए हामी जाँदैनथ्यौं । त्यो जानकारी पनि भएन ।

    हाम्रो गाडी त्यो बाटोमा हिंडेकै कारणले यो घटना उत्तेजक बनेको पनि होइन । त्यसभन्दा पहिलेदेखि नै त्यहाँ भीडन्त भएको रहेछ । त्यसपछि पनि भीडन्त भइराख्यो । जहाँ गाडी जलाइयो त्यो ठाउँमा भीडन्त भएको पनि छैन ।

    त्यो ठाउँमा कुनै गोली चलेको पनि छैन । त्यसकारण यो घटनामा हामीलाई जोड्ने अथवा हाम्रो गाडी सडकमा गएको कारणले यो घटना घटेको हो अथवा प्रदर्शनकारी बढी उत्तेजित भएका हुन् भन्ने कुरा गलत छ ।

    बैठकस्थलबाट निस्किएपछि मैले पीएसओ र ड्राइभरलाई हामी सिंहदरबार जाऔं भने । हामी सबै गाडीमा बस्यौं । गाडीबाट हिड्यौं । हिंड्दाहिंड्दै पीएसओले हामी बालकुमारीबाट मन्त्रालय जाँदैछौं भनेर आफ्नो सेन्ट्रलमा खबर गरिरहेको मैले सुनें ।

    त्यतिबेलासम्म पीएसओले वा अरु सुरक्षाकर्मीले कहीं कतैबाट यो बाटो डिस्टर्ब छ, यो बाटोमा जानुहुँदैन । अथवा अर्को कुनै रुट प्रयोग गरौं भन्ने किसिमको जानकारी कहीं कतैबाट आएन । यो जहाँबाट पनि पुष्टि हुन्छ । त्यहाँ डिस्टर्ब छ भन्दाभन्दै म मूर्खतापूर्वक त्यो बाटो त जाँदिनँ ।

    बरु हामी त्यो बाटोमा प्रवेश गरिसकेपछि जो डिस्टबेन्स देखियो, त्यसपछि हामी सतर्क भयौं र अब कसरी सुरक्षित हुने भन्ने किसिमले हामीले प्रयत्न गर्‍यौं । प्रयत्न गर्दागर्दै हामी सफल भएनौं त्यो एउटा पाटो भयो । तर अहिले मन्त्रीको गाडी आएकै कारणले यो घटना यसरी अगाडि बढ्यो भन्ने कुरा जुन भनिंदैछ यो आफ्नो दोष अरुतिर पन्छाउने खालको प्रयत्न/कसरत हो भन्ने मलाई लाग्छ । त्यसकारण यो घटनाको बारेमा हामी दुःखी छौं । घटना घट्यो । नघट्नुपर्ने थियो । दुई जना युवाहरुले ज्यान गुमाए । यो एउटा दुःखद् पक्ष हो । तर हाम्रो त कहीं कतैबाट सम्बन्ध नै छैन यसमा ।

    हामी सामान्य रुपमा त्यो बाटो प्रयोग गरेर मन्त्रालय आउन खोजेको हो । आउने क्रममा अवरोध भयो । अवरोध भएपछि म आफ्नो बैठकतिर फर्किएँ । त्यहाँ गाडी आगलागी भयो । हामी त पीडित पक्ष हौं, साँच्चिकै भन्दाखेरि । मान्छेको ज्यान जानेभन्दा गाडी आगलागी हुने कुरा सानो नहोला । तर हाम्रो मन्त्रालय त पीडित पक्ष हो ।

    हामी विना कारण, निर्दोष हुँदाहुँदै, त्यसमा हाम्रो कुनै संलग्नता नहुँदा नहुँदै, कुनै सम्बन्ध नहुँदा नहुँदै हाम्रो त गाडी क्षति भएको छ । त्यसकारण पीडित पक्षतिर नै फेरि यो घटनालाई पन्छाएर जो सुरक्षाकर्मीले कमजोरी गरेका छन्, चाहे सुरक्षा सम्बन्धी सूचना दिने कुरा होला । चाहे गोली चलाउने अवस्था थियो कि थिएन त्यस्तो अवस्थामा गोली चलाइएको कुरा होला । यो तमाम कुरामा आफ्नो कमजोरी कतै ढाकछोप गर्नलाई फरक ढंगले अभिव्यक्ति आउन थाल्यो कि भन्ने कुरामा मलाई अनुभूति हुन थालेको छ ।

    कतिले त्यहाँ मन्त्री किन गएको भन्ने पनि प्रश्न गरेछन् । दुनियाँलाई थाहा छ, दुई दिनदेखि बैठक चलिरहेको छ । केन्द्रीय कमिटी बैठकमा त मन्त्री भएको केन्द्रीय सदस्य पनि जान्छ नि ! दिनदिनै बैठकबाट मन्त्रालयमा काममा आएका छौं।

    आउने जाने त तीनदिनदेखि हाम्रो चलिरहेकै छ । यस्ता कुरामा जे सत्य र वास्तविक हो त्यही नै कुरा सबैले गर्नुपर्छ । हाम्रो तर्फबाट सत्य कुराहरु प्रष्ट पारिएको छ, प्रष्ट पार्न तयार छौं ।


  • सम्बन्धित विषय:

  • # #balkumarighatana
  • प्रतिक्रिया दिनुहोस